हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास नगरपालिकाको सामुदायिक
विद्यालयमा यसरी सुधार गर्न सकिन्
शिक्षा विकासको पूर्वाधार हो । साथै शिक्षा विकासको मेरुदण्ड पनि हो । समाज रूपान्तरणको आधार समेत हो । एउटा अवस्थामा रहेको समाजलाई अर्को अवस्थामा पुर्याउने माध्यम नै शिक्षा हो । एउटा बालक जन्मिए पछि उ शिक्षाको हकदार हुन्छ । शिक्षा प्राप्त गर्ने अधिकार सबैको हो । समाजमा रहेका विकृति,अन्धविश्वास,कुरीति हटाउने कार्यमा शिक्षाको अतुलनीय योगदान रहन्छ । समाज विद्यालयबाट र विद्यालय समाजबाट प्रत्यक्ष प्रभावित हुन्छ ।
हाल पुनर्वास नगरपालिकाअन्तर्गत ३२ ओटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा प्रारम्भिक बाल बिकास देखि माध्यमिक तहसम्मका शिक्षकहरू कार्यरत छन् । यहाँ कक्षा १-३, कक्षा १-५, कक्षा १-८, कक्षा १-१० र कक्षा १-१२ सम्मका विद्यालयहरू सञ्चालनमा रहेका छन् । साथै बाल विकास सहजकर्ता, निजी, नगर अनुदान, सङ्घीय अनुदान, राहत, अस्थायी करार र स्थायी शिक्षक कार्यरत छन् । नगरपालिका, विद्यालय,अभिभावक र विद्यार्थी समेतको प्रयासबाट पनि सामुदायिक विद्यालयको सन्तोषजनक सुधार हुन सकिरहेको अवस्था छैन् । राज्यबाट जुन किसिमको लगानी छ सो अनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन । लगानी बमोजिमको प्रतिफल प्राप्त नहुनु भनेको शैक्षिक गुणस्तर कायम नहुनु हो । यहाँ कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गरिएको छ । अत: पुनर्वास नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा सुधार गर्न देहायबमोजिमका उपायहरू अपनाउन सकिन्छ :
(१) शिक्षक सम्मेलनको आयोजना : नगरपालिकामा रहेका सम्पूर्ण प्रधानाध्यापक र शिक्षक सम्मिलित एक शिक्षक सम्मेलनको आयोजना गरेर बिशेष घोषणापत्र जारी गर्ने र घोषणापत्रमा भएका प्रावधान कार्यान्वयनको पूर्ण प्रतिबद्धता व्यक्त गर्ने र यसका लागि पुनर्वास नगरपालिकाले आवश्यक पहल गर्नुपर्दछ ।
(२) स्व अध्ययनमा जोड : यस नगरपालिकामा शिक्षण गर्ने सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरूले स्व अध्ययनमा आफूलाई समर्पित गर्नुपर्ने । आफूले अध्यापन गर्ने विषयका क्षेत्रमा आएका नयाँ नयाँ ज्ञान र नवप्रवर्द्धनलाई खोज गरी कक्षाकोठासम्म पुर्याउनुपर्ने गरी शिक्षकहरूले कार्य गर्नुपर्दछ ।
(३) शिक्षक सक्षमताको कार्यान्वयन : शिक्षक सक्षमता प्रारूप, २०७२ र राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा व्यवस्था भएका शिक्षकका आठ सक्षमता जस्तै : विषयवस्तुको ज्ञान, सिकाइ सहजीकरणका तौरतरिकासम्बन्धी ज्ञान, बालबालिका/सिकारुसम्बन्धी ज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार तथा सहकार्य, निरन्तर सिकाइ र पेसागत विकास, कानुनी आधार तथा पेसागत आचार संहिता र सूचना तथा सञ्चार प्रविधिको ज्ञानलाई शिक्षकहरूले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्दछ ।
(४) अभिभावकको निगरानीमा वृद्दि : घरमा अभिभावकले विद्यार्थीका लागि पठनपाठनको वातावरण मिलाउनुका साथै उनीहरूको व्यवहारप्रति विशेष चासो दिनुपर्छ । जस्तै : घरमा आउने समय, घरबाट जाने स्थान, साथीसंगत, मोबाइलको प्रयोग, पाठ्यपुस्तक अध्ययन, गृहकार्य, परियोजना कार्यमा व्यस्त, शिक्षकद्वारा गृहकार्य जाँच भए नभएको, आफ्ना नानीबाबुको सिकाइप्रति विद्यालयमा आएर चासो राख्ने लगायतका कार्य अभिभावकबाट हुनुपर्दछ ।
(५) विद्यार्थीको अध्ययन गर्ने बानी निर्माण : शिक्षकले विद्यार्थीमा आज कक्षामा पढेका सम्पूर्ण विषयका विषयवस्तु घरमा गई अध्ययन गर्ने र भोली कक्षामा पठनपाठन हुने प्रत्येक विषयका विषयवस्तुहरू घरबाट अध्ययन गरेर आउने बानी विकास गर्नुपर्छ । नयाँ विषयवस्तु अध्यापन गर्दा विद्यार्थीको पूर्व ज्ञान समेत जाँच्ने गर्नुपर्दछ । यसका लागि APPLE Techcnique द्वारा प्रश्न समेत सोधी पाठलाई अध्यापन गर्नुपर्छ । साथै शिक्षणका क्रममा ABC Framework लाई समेत आत्मसात गर्नुपर्छ ।
(६) शिक्षक तालिममा जोड : नगरपालिकाले कम्तिमा पनि मुख्य विषयका विज्ञ शिक्षक छनौट गरि ती विज्ञमार्फत प्रारम्भिक बाल विकासदेखि माध्यमिक तहसम्मका शिक्षकहरूलाई कस्टमाइज्ड तालिम दिने व्यवसथा मिलाउनुपर्छ । पुनर्वास नगरपालिकाभित्र उपलब्ध नहुने विज्ञ शिक्षकका हकमा अन्य पालिकाबाट विज्ञ शिक्षकलाई आमन्त्रण गर्नुपर्दछ । जस्तै : पाठ्यक्रम प्रबोधीकरण, कार्यमूलक अनुसन्धान, आन्तरिक र बाह्रय मूल्याङ्कन, विशिष्टकरण तालिका र प्रश्न निर्माण गर्ने सिप, सूचना तथा सञ्चार प्रविधि, शिक्षण विधि र सामग्री निर्माण सिप, बालमैत्री विद्यालय र मनोपरामर्श सम्बन्धी छोटो अवधिका तालिम नगरपालिका आफैंले सञ्चालन गर्ने गरी कार्य गर्नुपर्दछ । साथै शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र अन्य निकायबाट सञ्चालन हुने तालिम कार्यक्रममा सबै शिक्षकलाई आलोपालो हुने गरी तालिमको अवसर प्रदान गर्नुपर्दछ । कुनै अमूक व्यक्ति विशेषलाई मात्रै तालिमको अवसर दिने प्रवृत्ति अन्त्य गरिनुपर्दछ ।
(७) मौद्रिक र अमौद्रिक प्रेरणा प्रदान : नगरपालिकाबाट शिक्षकका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनुपर्दछ । विद्यालयमा हुने बर्षे विदा घटाई ती विदाका दिन विद्यालय सञ्चालन गरी मौद्रिक प्रेरणा उपलब्ध गर्ने व्यवस्था मिलाउन सके विद्यार्थीमा पठन संस्कृतिको विकास हुन सक्छ । साथै विद्यालयले पनि सबैभन्दा कम विदामा बस्ने शिक्षकको तथ्याङ्क सङ्कलन गरी ती शिक्षकलाई मौद्रिक प्रेरणा प्रदान गर्ने र विद्यालयमा आयोजना हुने बार्षिकोत्सव कार्यक्रममा सम्मान गर्ने व्यवस्था मिलाउनुपर्दछ । यसैगरी विद्यालयमा सञ्चालन हुने तीनओटै परीक्षा (दुई ओटा आन्तरिक र एउटा बाह्रय) को परीक्षाफल औपचारिक रूपमै प्रकाशन गरी विद्यालय स्वयमले विद्यार्थीलाई पुरस्कृत गर्ने संस्कृतिको थालनी गर्नुपर्दछ । विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यर्थीलाई सोही दिन पुरस्कार प्रदान गर्ने व्यवस्था गर्नुपर्दछ ।
(८) दरबन्दी मिलान र तहगत प्र.अ. को व्यवस्था : धेरै लामो समयपछि पुनर्वास नगरपालिकामा २०८२ श्रावण महिनामा दरबन्दी मिलान कार्य सम्पन्न भएको छ । जुन विद्यालयमा कम शिक्षक दरबन्दी छ, उक्त विद्यालयमा बढी शिक्षक दरबन्दी भएको विद्यालयबाट दरबन्दी कटौती गरि पदस्थापन गर्ने कार्य सराहनीय पक्ष हो । यो कार्यलाई प्रत्येक वर्ष विद्यालयको आवश्यकताका आधारमा निरन्तरता दिइनुपर्छ । दरबन्दी मिलान गर्दा शिक्षकको सङ्ख्याका साथै विद्यालयमा रहेको विषयगत आवश्यकता समेतलाई ध्यान दिनुपर्ने देखिन्छ । यसैगरी आधारभूत देखि माध्यमिक तहसम्मका विद्यालयहरूमा सकभर तहगत प्रधानाध्यापकको व्यवस्था गरिनुपर्दछ । यदि शिक्षक दरबन्दीको अभाव भएमा विद्यालयमा रहेका शिक्षकहरूमध्ये वरिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिनुपर्छ ।
(९) पुरस्कार र दण्ड : सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनका आधारमा पुरस्कार र दण्डको व्यवस्था लागू गरिनुपर्दछ । विद्यालयमा उत्कृष्ठ कार्य गरेका शिक्षकको तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय शिक्षा दिवसका अवसरमा नगरपालिकाले पुरस्कार प्रदान गर्न सके शिक्षकहरूमा थप उर्जा र हौसला आउन सक्थ्यो । यसरी पुरस्कार प्रदान गर्दा निश्चित मापदण्ड समेत निर्माण गरिनुपर्छ । साथै विद्यालयमा उत्कृष्ट काम गर्ने प्रधानाध्यापकलाई समेत वार्षिक रूपमा प्रोत्साहन गरिनुपर्दछ । विद्यालय सञ्चालनका क्रममा शिक्षक आचारसंहिता विपरित कार्य गर्ने शिक्षक र प्रधानाध्यापकको पहिचान गरी शिक्षा नियमावली बमोजिम सजायको समेत व्यवस्था गरिनुपर्दछ । साथै पुनर्वास नगरपालिकाले स्थानीय नगर शिक्षा ऐन र नियमावली जारी गरी यस पालिकाको शिक्षा प्रणालीलाई व्यवस्थित गर्नुपर्दछ । त्यस्तै मासिक प्रधानाध्यापक बैठकमा विद्यालयका गतिविधिको उत्कृष्ट प्रस्तुतीकरण गर्ने विद्यालयलाई मासिक रूपमा प्रोत्साहन रकमसहित प्रोत्साहित गरिनुपर्दछ । पुनर्वास नगरपालिका स्थापना दिवसका अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गर्न समेत सकिन्छ ।
(१०) नियमित अन्तर्किया र अनुगमन : सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि (वि.व्य.स. र शि.अ.सं.), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक-अभिभावक सङ्घका अध्यक्षबिच नियमित अन्तर्किया हुनुपर्दछ । साथै नगरपालिकाले समेत यी सबैसँग एकसाथ अन्तर्किया र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्दछ । विद्यालयमा पनि शिक्षक-स्टाफ, वि.व्य.स र शि.अ.सं. बिच विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने हो भने शैक्षिक सुधार आउनेमा आशावादी हुन सकिन्छ ।
(११) एक वडा : एक माध्यमिक र एक आधारभूत विद्यालयको अवधारणा : राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार सामान्यतया आधारभूत तहका बालबालिकाले आधा घण्टाको दुरीभन्दा बढी हिंड्नु नपर्ने गरी विद्यालयको नक्शाङ्कन, समायोजन र मिलान गरिनेछ भनि उल्लेख गरिएको छ । यसैगरी अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन,२०७५ बमोजिम “पायक पर्ने विद्यालय” भन्नाले सम्बन्धित बालबालिकाको अभिभावक रहेको बासस्थानबाट सामान्यतया दुई किलोमिटरसम्मको दूरीमा रहेको विद्यालय भनि परिभाषित गरिएको छ । यदि यो मापदण्डले पुनर्वास नगरपालिकाअन्तर्गतका विद्यालयमा कुनै बाधा नआउने हो भने एउटा वडामा एउटा माध्यमिक विद्यालय र एउटा आधारभूत विद्यालय हुने गरी विद्यालयको समायोजन गर्दा सान्दर्भिक हुन्छ । यो प्रावधानले हाल विद्यालयमा हुने गरेको शिक्षक अभाव पनि हट्न जाने देखिन्छ । यसो गर्दा यस नगरपालिकामा ३२ विद्यालय घटेर २२ विद्यालय रहनेछन् । घट्न गएका १० विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा पदस्थापन गर्दै जाने र यसो गर्दा नगरपालिकाले विद्यालयमा गर्दै आएको खर्चमा समेत मितव्ययिता आउँछ । बचत हुने लगानीलाई शैक्षिक गुणस्तरमा खर्च गर्न सकिन्छ ।
(१२) परीक्षा प्रणालीमा सुधार : अन्य कक्षाका बार्षिक परीक्षा विद्यालयमै सञ्चालन गरिएता पनि कक्षा ५ र ८ को बार्षिक परीक्षाका लागि अलग-अलग परीक्षा केन्द्र निर्धारण गरी उत्तरपुस्तिका नगरपालिकाले नै विषयविज्ञद्बारा परीक्षण गरी नतिजा प्रकाशनमा पारदर्शिता कायम गरिनुपर्दछ । यसो हुन सके अध्ययन र अध्यापनमा विद्यार्थी र शिक्षक दुवैले अझै धेरै मेहनत गर्ने संस्कृति विकास हुने अपेक्षा गर्न सकिन्छ । साथै विद्यालय व्यवस्थापन समितिले गर्ने शिक्षक नियुक्तिमा कुनै पनि समूहको अनावश्यक दबावविना सक्षम जनशक्ति विद्यालयमा भित्र्याउने संस्कृति विकास गरिनुपर्दछ । यसका लागि शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमकै मोडेल अनुसार परीक्षा सञ्चालनलाई निरन्तरता दिइनुपर्दछ ।
(१३) अनुभव आदान-प्रदान : छिमेकी विद्यालयका सम्बन्धित विषयका शिक्षकले अर्को विद्यालयमा गई कक्षामा आफ्नो अनुभव प्रदान गर्ने वातावरण सिर्जना गर्न सके विद्यार्थीको सिकाइमा पनि नयाँपन आउन सक्ने देखिन्छ । साथै नगरपालिकाको पहलमा विज्ञ शिक्षकद्बारा विद्यालयमा गई नमूना शिक्षण अभ्यासको थालनी गर्दा शिक्षणमा नवीन आयाम आउन सक्छ । अत: यसप्रकारका अभ्यासलाई निरन्तरता दिन सके शिक्षा क्षेत्रमा सुधार आउन बेर लाग्दैन ।
हाल हाम्रो पुनर्वास नगरपालिकाले जेन्जी आन्दोलनका क्रममा निकै नै क्षति व्यहोर्नु परेको अवस्था छ । विस्तारै भए पनि हाम्रो नगरपालिका एक दिन अवश्य उठ्नेछ । साविककै अवस्थामा सेवा प्रवाह गर्न सक्ने स्थितमा फर्किने छ । माथि उल्लेख गरिएका सुझावलाई सबैले आ-आफ्नो स्थानबाट कार्यान्वयन गर्दै जाने हो भने हाम्रो नगरपालिका पनि एक दिन शैक्षिक क्षेत्रमा अब्बल रहनेछ ।
लेखक : नबराज पाण्डेय(माध्यमिक तह, द्बितीय श्रेणी)
प्रधानाध्यापक श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास-११, अमरबस्ती, कञ्चनपुर

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V