हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर । पुनर्वास नगरपालिका–१ पुरैनामा मध्यराति ठूलो रकममा जुवा खेलिरहेको आशंकामा प्रहरीले छापा मार्दा पाँच जना पक्राउ परेका छन्। प्रहरी टोली पुगेपछि जुवामा संलग्न अन्य व्यक्तिहरू भने भागेका छन्।
पुरैना क्षेत्रको कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर जुवा खेल भइरहेको सूचनापछि प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले राति करिब २ बजे कारबाही गरेको हो।
प्रहरीका अनुसार घटनास्थलमा ठूलो संख्यामा मानिसहरू जुवा खेलिरहेको अवस्थामा टोली पुगेपछि उनीहरूबीच भागाभाग भएको थियो। केही व्यक्तिले आफ्ना सवारीसाधनसमेत त्यहीँ छाडेर फरार भएका छन्।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बोहरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रहरीले उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ।
त्यस्तै, जुवा खेलाइएको भनिएको स्थानबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकल फेला परेका छन्। प्रहरी टोली देखेपछि जुवामा संलग्न केही व्यक्तिहरू सवारीसाधनसमेत छाडेर भागेको प्रहरीले जनाएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V