हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले प्रदेशसभा सदस्य पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्। प्रदेशसभा सचिवालयले २०८३ असोज ३० गते सूचना जारी गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित थापाले राजीनामा दिएको जानकारी गराएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित थापाले नेपालको संविधानको धारा १८० (क) तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १९४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामापछि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
आम मतदाताको विश्वास र मतबाट निर्वाचित थापाले प्रदेशसभा सदस्यका रूपमा केही समय काम गरेपछि वनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। त्यसपछि उनले कृषि तथा भूमि सहकारी मन्त्रीको जिम्मेवारी पाएका थिए। मन्त्रीका रूपमा आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको र आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकता तथा विकासका विषयमा निरन्तर सक्रिय रहेको उनीनिकट स्रोतले जनाएको छ।
प्रदेशसभामा रहेर जनताको पक्षमा काम गर्ने प्रयास गरेका थापाले पछिल्लो समय प्रदेशसभाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका हुन्। उनले प्रदेशसभाको औचित्यमाथि नै प्रश्न उठाउँदै प्रदेशसभा खारेज भएको भए हुन्थ्यो भन्ने आशयको धारणा राखेको बताइएको छ।
प्रदेशसभा सचिवालयका निमित्त प्रदेशसभा सचिव लक्ष्मीप्रसाद जोशीद्वारा जारी सूचनामा असोज ३० गतेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य पद रिक्त भएको उल्लेख छ।
थापाको राजीनामासँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले प्रदेशसभाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै पद त्याग गर्नुले प्रदेशको संसदीय अभ्यास र जनअपेक्षाबारे थप प्रश्न उठाएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V