हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदै छौँ!’ अभियानअन्तर्गत पुनर्वास नगर समितिद्वारा आयोजित विशेष कार्यक्रममा पार्टीभित्रको आन्तरिक विवाद समाधान, संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
बैतडीबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हरिमोहन भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रास्वपा कञ्चनपुर जिल्ला सभापति पदम बिष्ट, पार्टीका सहमहामन्त्री पारस बाहुन, कञ्चनपुर निर्वाचन क्षेत्रका सभापति वीरेन्द्र शाही ‘बिरु’ र निर्वाचन क्षेत्र नं. २ का सभापति गणेश खड्कालगायतको उपस्थिति थियो। पुनर्वास नगर समितिका सभापति सुरेश गजरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ की उपसभापति मिना राना, जिल्ला सदस्य लक्ष्मण राणा, जनक चौधरी तथा युवा नेता गम्भीर खड्कालगायत सहभागी थिए।
कार्यक्रममा पार्टीको स्कुलिङ विभागमार्फत सञ्चालन भइरहेको आन्तरिक शुद्धीकरण अभियानबारे चर्चा गर्दै पुराना तथा नयाँ सदस्यबीच समान व्यवहार, आपसी सद्भाव र सहकार्य कायम गर्नुपर्ने धारणा राखिएको थियो। पार्टी स्थापनाकालदेखि आबद्ध सदस्यदेखि हालै पार्टीमा प्रवेश गरेका सदस्यसम्म सबैलाई समान रूपमा समेटेर आन्तरिक असन्तुष्टि र विवाद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा नेताहरूले जोड दिएका थिए।
पार्टीले सञ्चालन गरेको ‘हामी आउँदै छौँ!’ अभियान तथा आन्तरिक शुद्धीकरण कार्यक्रम जिल्ला, प्रदेश र स्थानीय तहका विभिन्न स्थानमा समेत निरन्तर सञ्चालन भइरहेको जानकारी कार्यक्रममा गराइएको थियो। आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, नेता तथा कार्यकर्ताबीच समन्वय र पार्टीभित्रको एकता सुदृढ बनाउने उद्देश्यले अभियानलाई देशव्यापी रूपमा अघि बढाइएको बताइएको छ।
पुनर्वास नगर सभापति सुरेश गजरेलले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र देखिएका समस्या समाधान गरी नेता तथा कार्यकर्ताबीच नङ र मासुको जस्तो सम्बन्ध स्थापित गर्नुपर्ने बताए। आपसी छलफल, सुझाव र सहकार्यका माध्यमबाट संगठनलाई थप मजबुत बनाउने उनको भनाइ थियो।
त्यस्तै, पुनर्वास नगरपालिका–९ का सम्भावित वडाध्यक्ष उम्मेदवारका रूपमा चर्चामा रहेका युवा नेता गम्भीर खड्काले देश विकासका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। पार्टीले जिम्मेवारी दिएर जनताले निर्वाचित गराएमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार तथा धार्मिक–सांस्कृतिक क्षेत्रको विकास र नागरिकको हकहितका लागि अहोरात्र खटिने उनले प्रतिबद्धता व्यक्त गरे।
खड्काले पार्टीभित्रका असन्तुष्टि र मनमुटाव अन्त्य गर्दै सबैलाई समेटेर संगठनलाई एकढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे। पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै जनताको सेवामा समर्पित हुने उनको भनाइ थियो।
आगामी निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको शुद्धीकरण तथा संगठन सुदृढीकरण अभियानले पार्टीभित्रको एकता बलियो बनाउँदै स्थानीय तहमा संगठन विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V