हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास, कञ्चनपुर । पुनर्वास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत भक्तबहादुर रोकायाको विदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम आत्मीय वातावरणमा सम्पन्न भएको छ।
पुनर्वास नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम शिक्षा शाखा प्रमुख शिवराज भट्टको अध्यक्षता, नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रोकाया २०७६ साल फागुन २० गतेदेखि पुनर्वास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा प्राविधिक सहायक पाँचौँ तहका रूपमा कार्यरत रहनुभएको थियो। २०८२ साल असार २४ गतेदेखि शिक्षा अधिकृत छैटौँ तहको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले पुनर्वास नगरपालिकामा करिब ६ वर्ष ६ महिना सेवा गर्नुभएको छ। उहाँको सरुवा गौमुल गाउँ कार्यपालिकाको कार्यालय, बाजुरामा भएको हो।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले रोकाया इमानदार, कर्तव्यनिष्ठ र आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध कर्मचारी रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा नगरपालिकालाई अघि बढाउन उहाँले चुस्तदुरुस्त ढंगले कार्यसम्पादन गर्दै महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै नगर प्रमुख शर्माले नियमित सरुवा तथा बढुवा प्रक्रियाअन्तर्गत एक असल कर्मचारी नगरपालिकाबाट विदा हुँदा आफूलाई दुःख लागेको बताउनुभयो।
नगर प्रमुख शर्माले रोकायाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिँदै उहाँलाई नेपाली ढाकाको टोपी पहिराएर सम्मानसहित विदाइ गर्नुभयो।
त्यस्तै, नगर उपप्रमुख भुलिया कुमारी रानाले रोकायाले पुनर्वासमा रहँदा आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। कार्यसम्पादनबाट छुट्टै पहिचान बनाउन सफल कर्मचारीका रूपमा उहाँको प्रशंसा गर्दै उपप्रमुख रानाले आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले रोकायालाई खादा लगाएर सम्मान गर्दै विदाइ गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा शिक्षा शाखा प्रमुख शिवराज भट्टले सरुवा तथा बढुवा कर्मचारीको नियमित प्रक्रिया भए पनि रोकायाले शिक्षा शाखामा पुर्याएको योगदान लामो समयसम्म स्मरणीय रहने बताउनुभयो। पुनर्वासमा रहँदा उहाँले निर्वाह गरेको जिम्मेवारी र प्रदान गरेको सेवाका लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभयो।
कार्यक्रमको सञ्चालन गर्दै पुनर्वास नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टले रोकायासँग सहकर्मीका रूपमा काम गर्दाका विभिन्न अनुभव तथा कार्यसम्पादनका क्रममा भएका तिता–मिठा क्षणहरू स्मरण गर्नुभयो। सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरूलाई उल्लेख गर्दै सूचना अधिकृत भट्टले उहाँको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामनासहित आफ्नो भनाइ टुङ्ग्याउनुभयो।
विदाइ कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख इन्जिनियर भानसिंह धामी, स्वास्थ्य शाखाका रामबहादुर धामी, विपद् शाखा प्रमुख ओमनाथ ढकाल, योजना शाखा प्रमुख शंकर बोगटी, कृषि शाखा प्रमुख ललिता चौधरी लगायत विभिन्न शाखा तथा जिम्मेवारीमा कार्यरत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
करिब ६ वर्ष ६ महिना पुनर्वास नगरपालिकामा सेवा गरेपछि नयाँ जिम्मेवारीका लागि बाजुरा जान लाग्नुभएका रोकायालाई जनप्रतिनिधि तथा सहकर्मी कर्मचारीहरूले आगामी कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्दै आत्मीयतापूर्वक ‘फेरि भेटौँला’ भन्दै विदाइ गरेका थिए।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V