हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर, भदौ १२ – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा आज पुनर्वास नगरपालिकामा वर्ड फ्लू रोग नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयोजक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राना रहनुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी उपरीक्षक खडकबहादुर खत्री, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख लोकेन्द्र दवे भट्ट, पशु विकास निर्देशक श्यामसिंह खड्का, पुनर्वास नगर प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल, जिल्ला पशु सेवा क्वारेन्टाइनका डा. धनकृष्ण अधिकारी, स्थानीय कुखुरा व्यवसायी, मासु व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, वडा अध्यक्ष, सदस्य, सरोकारवाला, पत्रकार तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले खुला सीमाबाट ब्यान्ड गरिएका बोइलर कुखुरा, अण्डा, पिउने पदार्थ, मासु लगायतका सामग्री नेपाल भित्र्याउँदा वर्ड फ्लू लगायतका महामारी फैलिन सक्ने भएकाले कडाइका साथ रोक्न आदेश जारी गर्नुभएको बताउनुभयो। उहाँले यसलाई नियन्त्रण गर्न सबै निकायको एकीकृत प्रयास आवश्यक रहेको पनि जोड दिनुभयो।
त्यस्तै जिल्ला प्रहरी प्रमुख खत्री र सशस्त्र प्रहरी बलका प्रमुख भट्टले पनि खुला सीमा क्षेत्रमा सयुक्त रूपमा निगरानी गर्दै रोग नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा उपप्रमुख राणाले नेपाल सरकारले बन्देज गरेका वस्तुहरू अनुगमन गर्ने कार्य निरन्तर जारी राखिएको बताउँदै स्थानीय तह, प्रहरी प्रशासन र व्यवसायी सबैले मिलेर अवैध रुपमा भित्रिने कुखुरा, मासु र अण्डालाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै सस्तोको लोभमा भारतबाट ल्याइने वस्तुले जनस्वास्थ्यमा जोखिम बढाउने भएकाले स्थानीयबासीलाई सचेत रहन अपिल गर्नुभयो।
कुखुरा व्यवसायी र किसानहरूले पनि आफ्ना उत्पादनलाई बजारमा सहज मूल्य पाउने व्यवस्था मिलाउन माग गर्दै स्वदेशमै उत्पादन भएको मासु, अण्डा र माछाको उपभोग गर्न आग्रह गरेका थिए।
त्यसैगरी पुनर्वासका युवा कुखुरा व्यवसायी किसान टक थापाले समय–समयमा यस्ता किसिमका कार्यक्रमहरू स्थानीय तह, प्रदेश र सङ्घ सरकारद्वारा वार्षिक लाखौँ बजेट जनचेतनामूलक कार्यक्रममा खर्च भए पनि किसानको हकहितमा भने कुनै प्रभाव नपरेको गुनासो गर्नुभयो। उहाँले राज्यका निकाय र स्थानीय तहका निकायहरूले भारतको खुला सिमानाबाट दिनहुँ कुन्टलका कुन्टल अवैध रूपमा आउने बोइलर कुखुरा, पिउने पदार्थ, अण्डा, माछा, श्रुतिजन्य वस्तुहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै यसले जनताको प्रत्यक्ष जीवनमा खेलवाड गरी अकालमै मृत्यु हुने अवस्था निम्त्याएको बताउनुभयो।
थापाले पुनर्वासमा ९ वटा बिओपी क्याम्प र एक इलाका प्रहरी कार्यालय, अस्थायी प्रहरी चौकीहरू रहे पनि भारतबाट दिनहुँ लाखौँको सामान भन्सार छली भित्रिँदा सुरक्षाकर्मीले ठूलो परिणामको रोकथाम नगरेको आरोप लगाउँदै किसानहरूको नेतृत्व गर्दै गुनासो राख्नुभएको थियो।कार्यक्रममा सरोकारवालाहरूले वर्ड फ्लू रोग नियन्त्रणमा सबै निकायको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।
यसैगरी कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पुनर्वास नगर इन्चार्ज कचन गिरी, नेपाली कांग्रेसका नेता तथा पूर्व पुनर्वास नगर सभापति यम प्रसाद पौडेल, नेकपा (एमाले) पुनर्वास नगर कमिटीका अध्यक्ष राम सिंह बिष्ट, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार राईमाझी, पुनर्वास नगरका निवर्तमान मेयर जिवन राज थापा, युवा समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, खेलप्रेमी, पुनर्वास नगरपालिका कर्मचारीलगायत व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V