हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष

पुनर्वास, कञ्चनपुर।
कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिका वडा नम्बर–२ मोतीबस्तीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयले सोमबार ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। कक्षा १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालय २०३६ सालमा स्थापना भएको हो।
विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय वीरबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनारले गर्नुभएको थियो भने पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराज थापा विशिष्ट अतिथि रहनु भएको थियो। त्यस्तै समाजसेवी तथा बुद्धिजीवी रामबहादुर देवको समेत विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको विस्तृत भनाइ
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय मन्त्री वीरबहादुर थापाले श्री सरस्वती माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याउनु भयो। उहाँले गत वर्ष पनि विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित आफूले प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै भन्नुभयो,
“नमुना विद्यालय नामले मात्र होइन, व्यवहार, अनुशासन, पठनपाठन, खेलकुद, अभिभावकको भूमिका र व्यवस्थापन सबै पक्षबाट नमुना हुनुपर्छ। त्यसका लागि सबैको साझा प्रयास आवश्यक छ।”
मन्त्री थापाले विद्यालयलाई आवश्यक पर्ने भौतिक संरचना, भवन निर्माण, फर्निचर, शैक्षिक सामग्री, कम्प्युटर तथा खेलकुद पूर्वाधार निर्माणमा आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै विद्यालयमा सञ्चालन भइरहेको ‘आफैँ पढ्ने, आफैँ कमाउने’ कार्यक्रममा पनि आफ्नो महत्वपूर्ण भूमिका र सहयोग रहने बताउनुभयो।
त्यस्तै उहाँले विद्यालयको शैक्षिक उन्नतिसँगै विद्यार्थी अनुशासन अत्यन्तै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो।
“गुणस्तरीय शिक्षा शिक्षक मात्रले सम्भव हुँदैन, अभिभावकको निरन्तर चासो, विद्यार्थीको अनुशासन र व्यवस्थापन समितिको सक्रियता अनिवार्य हुन्छ,” उहाँको भनाइ थियो।
सम्मान तथा पुरस्कार वितरण
कार्यक्रममा विद्यालय स्थापनाकालदेखि निरन्तर योगदान पुर्याउँदै आउनु भएका ज्येष्ठ नागरिक चन्द्रबिरे सार्की तथा दलित समुदायका अभिभावकलाई विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथि माननीय मन्त्री थापाले खादा, माला र नेपाली टोपी लगाइ सम्मान गर्नुभएको थियो।
त्यसैगरी परीक्षामा मर्यादा कायम राख्दै विद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउन सफल गराउने शिक्षक–शिक्षिकाहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सम्मानित सबैलाई खादा ओढाएर नगद प्रदान गरिएको थियो।
खेलकुद तथा अतिरिक्त क्रियाकलाप
समारोहमा पूर्व विद्यालय पीटी समिति अध्यक्ष गोपाल गुरुङले १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो।
त्यस्तै कार्यक्रमका अतिथि अर्जुनचन्दले बेलुन फुटाउने खेलमा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।
यसैगरी राजनीतिज्ञ तथा समाजसेवी, पूर्व जनशक्ति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर देउकरले आन्तरिक वार्षिक उत्सवअन्तर्गत आयोजित भलिबल प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र टीका ग्रहणसहित सम्मान गर्नुभएको थियो।
विद्यालयको वार्षिक प्रगति विवरण
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचना, फर्निचर, दराज, कम्प्युटर, टेबल–कुर्सी लगायतका विवरण सार्वजनिक गर्नुभयो। उहाँका अनुसार विद्यालयको वार्षिक आम्दानी–व्यय विवरण अनुसार आर्थिक वर्षमा कुल १ करोड ७७ लाख ३७ हजार ८०० रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै पुनर्वास शाखा राष्ट्रिय वाणिज्य बैंक र नवजीवन सहकारी संस्थामा रहेको विद्यालयको खातामा हाल करिब ६ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिनुभयो।
प्रधानाध्यापक पौडेलले विद्यालयले शिक्षा र खेलकुद दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै केही अभिभावकको अपेक्षित सहयोग नपाउँदा चुनौती आइरहेको गुनासो पनि गर्नुभयो। आगामी दिनमा सबै अभिभावक, समाजसेवी, बुद्धिजीवी र शिक्षाप्रेमीको सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।
सांस्कृतिक कार्यक्रम
कार्यक्रमलाई थप आकर्षक बनाउन सुदूरपश्चिमेली संस्कृति झल्काउने भव्य नृत्यहरू प्रस्तुत गरिएको थियो। राना समुदायको होरी मिलन नाच, थारु समुदायको सखिया नाच, तामाङ समुदायको तामाङसेलु र माने नाच लगायत विभिन्न नेपाली लोकनृत्य तथा गीत–गजल प्रस्तुत गर्दै विद्यालयका विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएका थिए।
समापन मन्तव्य
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सुनारले विद्यालयलाई नमुना बनाउने लक्ष्यसहित आफू जिम्मेवारीमा रहेको बताउनुभयो। हालसम्म भौतिक संरचना, शैक्षिक सामग्री र अन्य पूर्वाधारमा उल्लेखनीय प्रगति भएको र छिट्टै विद्यालय नमुना विद्यालयका रूपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो। साथै सहयोग गर्ने स्थानीय तह, प्रदेश तथा संघीय सरकार, अभिभावक र शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक, बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, सुरक्षाकर्मी, पत्रकार तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल पारिएको थियो। स्वागत मन्तव्य विद्यालयकी शिक्षिका धनुमाया ओली कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कक्षा १० की रोशनी थापा र कक्षा १२ का भूपेश तिवारीले गर्नुभएको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V