हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
धनगढी । सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेश प्रहरीको सक्रियता बढेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा परिचालित प्रहरी टोलीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा निगरानी बढाउँदै भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गर्न थालेको हो।
पछिल्लो समय प्रहरीले भन्सार छलीका सामानसँगै लागूऔषध ओसारपसार, जुवातास, होटल तथा बजार क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी–निकासी नियन्त्रणमा समेत निगरानीलाई प्रभावकारी बनाएको जनाएको छ।
यसैक्रममा २०८३ भदौ १९ गते साँझ करिब ७ः३० बजे कञ्चनपुरको बेलौरी नगरपालिका–३, खेरियाबाट भारतबाट भन्सार छली गरी ल्याइएको से.३५ प ४७०० नम्बरको ग्ल्यामर मोटरसाइकलसहित ४० ओटा सुपर पान मसला/सुर्ती र प्लास्टिकजन्य सामग्री बरामद गरिएको थियो। बरामद मोटरसाइकल तथा सामानको अन्दाजी मूल्य करिब २ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कैलालीको टीकापुर नगरपालिका–९, भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका साडी बरामद गरिएको छ। बरामद साडीको मूल्य करिब १ लाख ८१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार नजिकबाट पनि भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न कपडा तथा अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीको कुल मूल्य १ लाख २३ हजार ६ सय ५० रुपैयाँ रहेको छ।

प्रदेश प्रहरीको पछिल्लो अभियानबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले प्रहरीको नियमित निगरानीसँगै सादा पोशाकमा परिचालित टोलीलाई थप सक्रिय बनाइएको जानकारी दिनुभयो।
डीआईजी भट्टराईले आगामी दिनमा पनि भन्सार छली, लागूऔषध कारोबार, चोरी–निकासी तथा समाजमा हुने अन्य आपराधिक गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने बताउनुभयो। उहाँका अनुसार कानुनविपरीतका गतिविधि गर्ने जो–कोहीलाई प्रमाणका आधारमा कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध छ।
आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रदेश प्रहरीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने तयारीसमेत गरिरहेको उहाँले बताउनुभयो। चाडपर्वका समयमा सीमावर्ती नाका, बजार क्षेत्र, सार्वजनिक स्थान तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरी परिचालन बढाइने र सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानी गरिने उहाँको भनाइ छ।
डीआईजी भट्टराईले चाडपर्व शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउने वातावरण बनाउन प्रहरीको सुरक्षा योजना व्यापक बनाइएको बताउँदै नागरिकलाई समेत शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई सूचना दिन आग्रह गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणसँगै चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेर आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्ने जनाएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V