हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, मौरीफाँटाका चन्द्र लुहारले आफ्नी श्रीमती बेपत्ता भई अर्कै व्यक्तिसँग विवाह गरेको आरोप लगाएका छन्। भारतको ब्याङ्गलोरमा रोजगारीका लागि बसोबास गर्दै आएका लुहारका अनुसार करिब १६ वर्षअघि आदर्श गाउँपालिका–५, दहकालिकी लक्ष्मी लुहारसँग उनको विवाह भएको थियो।
उनका अनुसार वैवाहिक जीवनमा एक छोरा र तीन छोरी रहेका छन्। परिवारको भविष्य सुनिश्चित गर्ने उद्देश्यले उनी केही वर्षअघि कान्छो छोरासहित रोजगारीका लागि भारतको ब्याङ्गलोर पुगेका थिए। त्यहाँ बस्दै गर्दा श्रीमतीले पनि काम गर्ने इच्छा व्यक्त गरेपछि उनले सहमति दिएका थिए।
लुहारको आरोपअनुसार त्यसपछि श्रीमतीको व्यवहारमा परिवर्तन देखिन थालेको र एक अपरिचित भारतीय युवकसँग नजिकिएको उनले बताएका छन्। उनले श्रीमतीलाई अपरिचित व्यक्तिसँग सम्बन्ध नराख्न सुझाव दिए पनि विवाद बढ्दै गएको जनाइएको छ।
केही समयपछि श्रीमती सम्पर्कविहीन भएको र खोजीका क्रममा करिब एक लाख रुपैयाँ नगद तथा गरगहना लिएर ती युवकसँगै गएको थाहा भएको लुहारले बताएका छन्। पछि प्रहरीको सहयोगमा खोजी गर्दा श्रीमतीले ती युवकसँग विवाह गरी ब्याङ्गलोरमै बसोबास गरिरहेको जानकारी प्राप्त भएको उनले दाबी गरेका छन्।
यस घटनाबारे लुहारका भाइ, कञ्चनपुरको पुनर्वास नगरपालिका–५ निवासी श्यामसुन्दर विश्वकर्माले जानकारी गराउँदै सामाजिक सञ्जाल तथा भारतका विभिन्न स्थानमा खोजी कार्य तीव्र बनाइएको बताए। उनले हराइरहेकी महिलाको खोजी तथा सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकाय र सर्वसाधारणसँग सहयोगका लागि हार्दिक अनुरोध गरेका छन्।
यस घटनाबारे आधिकारिक पुष्टि भने सम्बन्धित निकायबाट हुन बाँकी रहेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V