हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर । पुनर्वास नगरपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GESI) प्रवर्द्धनसम्बन्धी रिफ्लेक्सन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगर विपद् व्यवस्थापन शाखाको समन्वयमा मर्सिकोर नेपालद्वारा सञ्चालित आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त कार्यशाला आयोजना गरिएको हो।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, विकास साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यशालामा मर्सिकोर नेपाल अन्तर्गत EMRED परियोजनाकी सिनियर GESI स्पेसलिस्ट सङ्गिता अधिकारी क्षेत्रीले आर्थिक विकास र विपद् जोखिम न्यूनीकरणमा GESI दृष्टिकोणको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई नीति, योजना र कार्यक्रममा समेट्न नसकिए दिगो विकास सम्भव नहुने स्पष्ट पार्नुभयो। साथै, विपद् व्यवस्थापनका सबै चरणमा संवेदनशील समूहहरूको अर्थपूर्ण सहभागिता अनिवार्य रहेकोमा जोड दिनुभयो।
कार्यशालामा नगरपालिकाले हालसम्म GESI दृष्टिकोणलाई नीति, संरचना र कार्यक्रमहरूमा एकीकृत गर्न गरेका प्रयास, प्राप्त सिकाइ तथा विद्यमान चुनौतीहरू प्रस्तुत गरिएको थियो। आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गर्न सकिने असल अभ्यास र सुधारका सम्भावित उपायबारे समेत विस्तृत छलफल गरिएको थियो।
सामाजिक तथा बाल विकास शाखा प्रमुख कृष्ण भट्टले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा लक्षित समुदायका लागि सञ्चालन भइरहेका कार्यक्रमहरूको जानकारी गराउँदै समावेशी नीतिनिर्माणमा शाखाले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। त्यस्तै, भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख शंकर बोकटीले अपाङ्गता मैत्री र लैङ्गिक उत्तरदायी पूर्वाधार निर्माणमा नगरपालिकाले अवलम्बन गरिरहेका अभ्यासहरू प्रस्तुत गर्नुभयो।
नगर विपद् व्यवस्थापन शाखाका फोकल पर्सन ओमनाथ ढकालले विपद् जोखिम न्यूनीकरणमा GESI दृष्टिकोणको आवश्यकता औँल्याउँदै जोखिम पहिचानदेखि पुनःस्थापनासम्म समावेशी अभ्यास अपनाइएको जानकारी दिनुभयो। यसैगरी, कृषि शाखा प्रमुख ललिता चौधरीले महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा विपन्न कृषकलाई लक्षित गर्दै कृषि क्षेत्रलाई समावेशी र दिगो बनाउने उद्देश्यसहित सञ्चालन गरिएका कार्यक्रमबारे मन्तव्य राख्नुभयो।
कार्यक्रमको समापन गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले समावेशी विकासबिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणमा कार्यशालाबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मर्सिकोर नेपालसँगको सहकार्यले नगरपालिकालाई समावेशी र जोखिमप्रति संवेदनशील स्थानीय शासनतर्फ अघि बढ्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।
कार्यशालामा सहभागी सरोकारवालाहरूले विपद् जोखिम न्यूनीकरण र आर्थिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन GESI दृष्टिकोणलाई संस्थागत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V