हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

कञ्चनपुर, २८ जेठ
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको पुनर्वास विद्युत् सबस्टेसनबाट ३३ केभी प्रसारण लाइन सञ्चालनको तयारी थालिएको छ। यससँगै लामो समयदेखि स्थानीय उपभोक्ताले भोग्दै आएको लो भोल्टेजको समस्या आंशिक रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्र र सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको समन्वयमा फिडर तथा ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको जनाइएको छ। एक हप्ताभित्र पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन प्रसारण गर्ने लक्ष्य राखिएको छ
बेलौरी विद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख हिकमत बिसीले आफूले कार्यालयको जिम्मेवारी सम्हालेदेखि नै यस क्षेत्रको विद्युत् समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि निरन्तर पहल गर्दै आएको बताए। उनले विभिन्न शाखा, प्राविधिक निकाय तथा सरोकारवालासँग चरणबद्ध रूपमा छलफल र समन्वय गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाएको उल्लेख गरे।
“पुनर्वास क्षेत्रको विद्युत् समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी गरिएको छ। अब केही दिनभित्रै ३३ केभी लाइन सञ्चालनमा आउने गरी काम भइरहेको छ,” बिसीले बताए।
उक्त कार्य सम्पन्न भएपछि विद्युत् भोल्टेजमा सुधार आउनुका साथै विद्युत् आपूर्तिमा देखिने चुहावट तथा अन्य प्राविधिक समस्यामा पनि कमी आउने विश्वास गरिएको छ। यसबाट पुनर्वास क्षेत्रका घरधुरी, व्यवसाय तथा उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण कार्यका लागि पहल तथा समन्वय गरेको पुनर्वास उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्र तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाप्रति हार्दिक आभार व्यक्त गरेको छ। संघले निर्धारित समयमै कार्य सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन समेत आग्रह गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V