हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर । लालझाडी गाउँपालिका वडा नम्बर–३ छोटी पर्सिया, कञ्चनपुरमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्यक्रमका सभापति विश्राम चौधरीको अध्यक्षता रहेको थियो भने वडा नम्बर–३ का वडा अध्यक्ष टिकाराम डंगौराको विशिष्ट अतिथि रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि,सामुदायिक वनका पदाधिकारी, अभिभावक, पूर्व विद्यार्थी, पत्रकार, खेलप्रेमी ,समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै शैक्षिक सत्रमा उच्च अङ्क प्राप्त गर्ने जेहनदार विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी कार्यक्रम गरिएको थियो।
लालझाडी गाउँपालिकामै सर्वोत्कृष्ट नतिजा हासिल गर्दै एसइई परीक्षामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी विजय चौधरीलाई रु ५,००० नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, खेलकुदतर्फ सर्वोत्कृष्ट पाँचवटा गोल्ड मेडल विजेता विद्यार्थी जगदीश चौधरीलाई रु १,००० तथा सबैभन्दा सानो कक्षा ४ मा अध्ययनरत महिमा रानाले १५०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल प्राप्त गरेकामा उनलाई पनि रु १,००० नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले विद्यालयको भौतिक संरचना, विद्यार्थी संख्या, कम्प्युटर, फर्निचर निर्माणलगायतका विषयमा प्रष्ट जानकारी दिनुका साथै विद्यालयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयको शैक्षिक उन्नयनमा विगतदेखि हालसम्म राजनीतिक नेतृत्व, समाजसेवी, स्थानीय तह, प्रदेश तथा संघीय सरकार, बुद्धिजीवी, खेलप्रेमी, पत्रकार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।कार्यक्रमको स्वागत मन्तव्य शिक्षक लक्ष्मीप्रसाद सोतीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक धनसराज पन्तले गर्नु भएको थियो।
विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, अभिभावक तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। विद्यालय क्षेत्रको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र सर्वाङ्गीण उन्नतिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको थियो।


कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V