हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
नेपाल–भारत आवतजावत गर्ने यात्रुका लागि ठूलो झट्का, गौरीफन्टा नाकामा आधार कार्डबाट प्रवेश बन्द
कञ्चनपुर पुनर्वास। भारत–नेपाल सीमा अन्तर्गत गौरीफन्टा नाकामा सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ। भारतको गृह मन्त्रालयको निर्देशनअनुसार अब आधार कार्ड मात्र देखाएर नेपाल–भारत आवतजावत गर्न नपाइने भएको छ। सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) ले नयाँ व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ।
नयाँ व्यवस्थाअनुसार आधार कार्ड मात्र देखाएर गौरीफन्टा नाकाबाट सीमा पार गर्न अनुमति नदिइने भएको छ। नेपाल प्रवेशका लागि भारतीय नागरिकले अब मतदाता परिचयपत्र (भोटर आईडी) वा वैध राहदानी (पासपोर्ट) अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
त्यसैगरी, आफ्ना अभिभावकसँग यात्रा गर्ने बालबालिकाका लागि विद्यालयको परिचयपत्र (स्कुल आईडी) वा राशन कार्ड मान्य हुने बताइएको छ।
नयाँ नियमबारे जानकारी नभएका कारण केवल आधार कार्ड बोकेर गौरीफन्टा नाका पुगेका दर्जनौँ यात्रुलाई सीमा क्षेत्रबाटै फर्काइएको जनाइएको छ। यसबाट नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारण, व्यापारी तथा पर्यटक प्रभावित भएका छन्।
सीमा सुरक्षा निकायका अनुसार नक्कली परिचयपत्रको प्रयोग गरी हुने अवैध प्रवेश तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा नयाँ व्यवस्था लागू गरिएको हो। नेपाल र भारतबीचको खुला सीमाको निगरानीलाई थप कडाइ तथा प्रभावकारी बनाउन यो कदम चालिएको सुरक्षा निकायको भनाइ छ।
सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीय बासिन्दा, व्यापारी तथा पर्यटकलाई नेपाल जाने योजना बनाउनुअघि निर्धारित वैध परिचयपत्र साथमा राख्न आग्रह गरेको छ। सीमा क्षेत्रमा हुने जाँचका क्रममा अनावश्यक समस्या नहोस् भन्नका लागि मतदाता परिचयपत्र वा वैध राहदानी साथमा राख्न एसएसबीले अनुरोध गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V